चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम जारी रहे पनि बुधबार दिउँसोसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक हुन सकेको छैन।
महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि करिब ४०० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार प्रारम्भिक नामावली प्रकाशन भएपछि दाबी–विरोधका लागि समय उपलब्ध गराइनेछ। त्यसपछि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरी विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइने तयारी गरिएको छ।
चितवनको भरतपुरमा जारी महाधिवेशनका लागि ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। निर्वाचन समितिले आजै मतदान सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरेको जनाएको छ।
रास्वपाले आज रातिसम्म केन्द्रीय सदस्यको पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने योजना बनाएको छ। त्यसपछि दोस्रो चरणमा पार्टीका पदाधिकारी चयनका लागि मतदान गरिनेछ।
दोस्रो चरणको निर्वाचनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी कुल ६ जना पदाधिकारी चयन हुनेछन्। पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियालाई लिएर प्रतिनिधिहरूबीच उत्साह र चासो बढेको छ।