सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणमार्फत मतदान, दुई घण्टाभित्र नतिजा आउने दाबी

बुधबार, असार १० २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनका लागि ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गरिने भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि उनीहरूको नाम र तस्बिर विद्युतीय उपकरणमा समावेश गरेर मतदान प्रक्रिया सञ्चालन गरिनेछ।

उनले मध्याह्नदेखि पहिलो चरणको मतदान सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिनुभयो। मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउन र प्रणाली परीक्षणका लागि पाँच वटा उपकरण नमुना मतदानमा प्रयोग गरिने पनि उनले बताए।

निर्वाचनमा ४०० भन्दा बढी उम्मेदवार मैदानमा रहेका छन्। विभिन्न समूह तथा क्लस्टरका आधारमा पनि उम्मेदवारी कायम रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो हुन सक्ने अनुमान गरिएको छ।

निर्वाचन आयोगका प्रमुख केसीले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो।

महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुन लागेको हो। रास्वपाको नयाँ नेतृत्व चयनका लागि भइरहेको यो निर्वाचनलाई पार्टीभित्र विशेष महत्वका साथ हेरिएको छ।