सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका तीन निकट सहयोगीको उम्मेदवारी

बुधबार, असार १० २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।

अशिम शाहले खुला मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दर्ता गराएका छन्। उनलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा हेरिन्छ। जेनजी आन्दोलनका क्रममा सांसद पदबाट राजीनामा दिने पहिलो नेतामध्ये उनी पनि एक हुन् ।

राजनीतिक सहकार्य र वैकल्पिक शक्तिहरूबीच संवाद विस्तारमा सक्रिय रहँदै आएका शाह पछिल्लो समय सरकारका राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्। चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा समेत उनी परिचित छन्।

यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा केन्द्रित रहने ढकाल प्रशासनिक सुधार, सुशासन अभियान तथा पार्टी समायोजनका विभिन्न प्रक्रियामा सक्रिय रहँदै आएको बताइएको छ।

काठमाडौँ महानगरपालिकामा सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा कार्यरत रहँदा उनले सूचना प्रणाली विकास, डिजिटल प्रशासन र तथ्याङ्कमा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन योगदान पुर्‍याएका थी। साथै, जेनजी आन्दोलनपछिको राजनीतिक सहकार्य र संवाद प्रक्रियामा पनि उनको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ।

त्यसैगरी, प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापन क्षेत्रमा सक्रिय उनलाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ।

ढकालले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। उनले उक्त अध्ययन उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणीमा सम्पन्न गरेकाे बताइएको छ।

रास्वपाको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको नयाँ नेतृत्व चयन प्रक्रियामा प्रधानमन्त्री शाह निकट यी तीन व्यक्तिको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।