काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर विभागमा हाजिर गराइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई नेपालगञ्जस्थित प्रहरी गणमा राखी मंगलबार बिहान हवाईमार्ग हुँदै काठमाडौं ल्याइएको हो।
सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटल परिसरमा एमालेको चुनावी समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रम चलिरहेकै बेला उनलाई पक्राउ गरिएको थियो।
विभागले उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उपस्थित गराएको बताइएको छ। अब उनीमाथि कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइनेछ।
यसअघि विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई इमेलमार्फत निर्देशन दिएको स्रोतले जनाएको छ।
उनीमाथि केही व्यावसायिक सम्बन्ध र कारोबारसम्बन्धी आरोपहरूबारे पनि अनुसन्धान हुने उल्लेख गरिएको छ। तर यस विषयमा सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गरेको छैन।