चितवन ।चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ। प्रतिनिधि विवाद समाधान गरी कार्ड वितरणको काम सम्पन्न हुँदै गएपछि बन्दसत्र सुरु गर्ने तयारी गरिएको पार्टी नेताहरूले बताएका छन्।
पार्टी नेता गणेश पराजुलीका अनुसार प्रतिनिधिसम्बन्धी देखिएको विवाद समाधान भइसकेको छ र अब बन्दसत्र निर्धारित समयअनुसार अघि बढाइनेछ। महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाहले पनि विवाद समाधानपछि प्रक्रिया सहज बनेको जानकारी दिएका छन्।
महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्। हिजो बिहान ८:३० बजेका लागि तय गरिएको बन्दसत्र प्राविधिक कारणले सुरु हुन नसकेपछि व्यवस्थापन सुधार गरी अहिले कार्ड वितरण भइरहेको छ।
प्रतिनिधिहरूले कमजोर व्यवस्थापन र तयारीको अभावप्रति असन्तुष्टि जनाएका छन्। कोशी प्रदेशका एक प्रतिनिधिले पर्याप्त तयारी बिना महाधिवेशन बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् भने मधेस प्रदेशका प्रतिनिधिहरूले व्यवस्थापन कमजोरीका कारण ढिलाइ र असुविधा भएको गुनासो गरेका छन्।
महाधिवेशनमा खाना र खाजाको व्यवस्था पार्टीले गरेको भए पनि बासको व्यवस्था प्रतिनिधिहरूले आफैं गर्नुपर्ने भएकाले ढिलाइका कारण आर्थिक भार बढेको सहभागीहरूको भनाइ छ।
महामन्त्री बुर्लाकोटीका अनुसार निर्वाचन हुने पदहरूमा आज बेलुका नै मतदान सुरु हुन सक्ने सम्भावना छ। बन्दसत्र सम्पन्न भएलगत्तै निर्वाचन प्रक्रिया अघि बढाइने उनले बताएका छन्।