काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले लोकतान्त्रिक व्यवस्थामा अन्तिम शक्तिको स्रोत जनता र कानुन हुने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणसँग जोडेर हेरिएको छ।
बाँस्कोटाले कानुनी प्रक्रिया पूरा नभई कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै फाँसीको सजाय हुने कानुन भए पनि अभियोग प्रमाणित भएपछि मात्र सजाय कार्यान्वयन गर्न सकिने बताएका छन्।
उनले लेखेका छन्, “फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणीकरण भएपछि मात्र चढाउन मिल्छ। शक्ति कसँग थिएन—राणा, राजा, दलहरू? तर लोकतन्त्रमा अन्तिम शक्तिको स्रोत जनता र कानुनमा निहित हुन्छ।”
उनले गल्ती प्रमाणित भए कसैले पनि विशेष व्यवहार वा ‘रेड कार्पेट’ खोज्न नमिल्ने उल्लेख गर्दै आरोप पुष्टि नभएको अवस्थामा शक्ति प्रदर्शनका शृंखला अतिवादतर्फ जान सक्ने चेतावनी दिएका छन्। “गल्ती पुष्ट भए कसैले रेड कार्पेट खोज्न मिल्दैन, छैन भने शक्ति प्रदर्शनका शृंखला अतिवादमा रूपान्तरण हुन जान्छ,” उनले भनेका छन्।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेका एमाले उपाध्यक्ष पौडेललाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। विभाग स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमार्फत काठमाडौं ल्याइँदैछ।
हाल उनी चितवन–धादिङ सडकखण्डतर्फ रहेको र बाटोमा विश्राम तथा अन्य व्यवस्थापनका कारण काठमाडौं आइपुग्न समय लागेको स्रोतले जनाएको छ।
यद्यपि, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्की ले विभागबाट हालसम्म कुनै औपचारिक ताकेता वा पत्राचार प्राप्त नभएको बताएका छन्।
पौडेल पक्राउ प्रकरणले राजनीतिक वृत्तमा तरंग सिर्जना गरिरहेका बेला बाँस्कोटाको अभिव्यक्तिलाई कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको टिप्पणीका रूपमा हेरिएको छ।