काठमाडाैं। काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिक हिजाे बेलुका भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। निजी कारले विभिन्न मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा१४च ४८२० नम्बरको निजी कारले मोटरसाइकलहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बा८९प ६४८६ नम्बरको मोटरसाइकलका चालक मकवानपुर घर भई हाल ललितपुरको ग्वार्को बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन तथा पछाडि सवार भोजपुर घर भई हाल ग्वार्को बस्ने १९ वर्षीय बबिन राई घाइते भएका छन्।
त्यस्तै, बा९६प ३३२५ नम्बरको मोटरसाइकलका चालक ललितपुरको धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ, बा प्र ०२०६६ प ६१०७ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको स्वयम्भु बस्ने १८ वर्षीय सुशील श्रेष्ठ र सोही मोटरसाइकलमा सवार डोटीको बडीकेदार गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय रवि चन्द पनि घाइते भएका छन्।
यसैगरी, बा प्र ०२०४१ प ८२८२ नम्बरको मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका–३ घर भई हाल ललितपुरको झम्सीखेल बस्ने २२ वर्षीय सुदीप थापा पनि दुर्घटनामा घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कारका चालक तथा क्षतिग्रस्त सवारी साधनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कोटेश्वरको नियन्त्रणमा राखिएको छ।