काठमाडौँ । सुर्खेतबाट पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइँदै गरिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएका उनलाई काठमाडौं ल्याएपछि कानुनी प्रक्रिया अगाडि बढाइने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर अनुसन्धान अघि बढाउने तयारी गरिएको विभाग स्रोतले जनाएको छ।
यद्यपि हालसम्म विभागबाट औपचारिक रूपमा कुनै पत्राचार वा निर्देशन प्राप्त नभएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले बताए।
स्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै सवारी साधनमार्फत काठमाडौं ल्याइँदैछ। यात्रा क्रममा विश्राम तथा अन्य व्यवस्थापनका कारण काठमाडौं आइपुग्न केही समय लागेको जनाइएको छ। उनी हाल चितवन–धादिङ सडक खण्ड आसपास पुगेको स्रोतले जनाएको छ।
काठमाडौं ल्याइएपछि अनुसन्धानका लागि आवश्यक म्याद थप गर्न विशेष अदालतमा पेश गरिनेछ। अदालतबाट म्याद प्राप्त भएपछि उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने बताइएको छ।
यसअघि पौडेललाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर हवाईमार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो। तर सुर्खेतबाट नेपालगन्जतर्फ लैजाने क्रममा काठमाडौंबाट प्राप्त निर्देशनअनुसार योजना परिवर्तन गरी स्थलमार्गबाटै काठमाडौं ल्याउने निर्णय गरिएको प्रहरी स्रोतले जनाएको छ।