मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

हेटौंडामा ग्रीन हाइड्रोजन योजना : नेपालको ऊर्जा क्रान्तितर्फको नयाँ पाइला

बिहिबार, असार ४ २०८३

नेपाल प्राकृतिक स्रोतको दृष्टिले अत्यन्तै सम्पन्न राष्ट्र हो। हिमालबाट बग्ने हजारौं नदी, प्रशस्त जलस्रोत र जलविद्युत् उत्पादनको अपार सम्भावनाले नेपाललाई दक्षिण एशियाकै एक महत्वपूर्ण ऊर्जा केन्द्र बन्ने आधार प्रदान गरेको छ। यही सम्भावनालाई आधुनिक प्रविधिसँग जोड्दै नेपाल सरकारले आगामी वर्षहरूमा हेटौंडामा ग्रीन हाइड्रोजन उत्पादन गर्ने तथा त्यसबाट अमोनिया र युरिया मल उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। बजेटमार्फत सार्वजनिक भएको यो अवधारणा केवल एउटा औद्योगिक परियोजना मात्र होइन, नेपालको आर्थिक, कृषि, औद्योगिक तथा कूटनीतिक भविष्यसँग जोडिएको दूरदर्शी योजना पनि हो।

ग्रीन हाइड्रोजन भनेको के हो?

हाइड्रोजन ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने तत्व हो। पानी (H₂O) मा दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन हुन्छ। विद्युत्को प्रयोग गरी पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियाबाट छुट्याउँदा हाइड्रोजन र अक्सिजन प्राप्त हुन्छ।

यदि यो प्रक्रिया जलविद्युत्, सौर्य ऊर्जा वा पवन ऊर्जाजस्ता नवीकरणीय ऊर्जाको प्रयोग गरेर गरिन्छ भने उत्पादित हाइड्रोजनलाई “ग्रीन हाइड्रोजन” भनिन्छ। यसले वातावरणमा कार्बन उत्सर्जन नगर्ने भएकाले विश्वभरि नै यसलाई भविष्यको स्वच्छ इन्धनका रूपमा हेरिएको छ।
यसको विपरीत प्राकृतिक ग्यास वा कोइलाबाट उत्पादन हुने हाइड्रोजनलाई ग्रे हाइड्रोजन भनिन्छ, जसले ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गर्छ। त्यसैले जलविद्युत्को धनी राष्ट्र नेपालका लागि ग्रीन हाइड्रोजन नै सबैभन्दा उपयुक्त विकल्प मानिन्छ।

नेपालका लागि किन महत्वपूर्ण छ ?

नेपालले विगत केही वर्षदेखि जलविद्युत् उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ। वर्षायाममा उत्पादन बढी हुँदा विद्युत् खेर जाने अवस्था समेत सिर्जना हुन्छ। यही अतिरिक्त विद्युत्लाई ग्रीन हाइड्रोजन उत्पादनमा प्रयोग गर्न सकिन्छ।
हेटौंडा औद्योगिक क्षेत्र नेपालको प्रमुख औद्योगिक केन्द्र हो। यहाँ पूर्वाधार, यातायात पहुँच तथा औद्योगिक वातावरण तुलनात्मक रूपमा राम्रो भएकाले ग्रीन हाइड्रोजन उत्पादन केन्द्र स्थापना गर्न उपयुक्त स्थान मानिएको छ।

ग्रीन हाइड्रोजनले नेपाललाई केवल विद्युत् बेच्ने देशबाट स्वच्छ ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित गर्न सक्छ। आज संसारले पेट्रोलियममा आधारित अर्थतन्त्रबाट हरित अर्थतन्त्रतर्फ यात्रा गरिरहेको छ। यस्तो अवस्थामा नेपालले समयमै सही निर्णय लिन सके विश्व बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छ।

अमोनिया र युरिया उत्पादनको सम्भावना लाई सार्थक बनाउन यो कोसे ढुग्गा साबित हुन सक्छ॥
ग्रीन हाइड्रोजनको सबैभन्दा महत्वपूर्ण औद्योगिक प्रयोग अमोनिया (NH₃) उत्पादनमा हुन्छ। हाइड्रोजनलाई वायुमण्डलमा रहेको नाइट्रोजनसँग संयोजन गरी अमोनिया उत्पादन गरिन्छ। यही अमोनियाबाट युरिया मल उत्पादन गरिन्छ।

नेपालले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको रासायनिक मल आयात गर्दै आएको छ। समयमा मल उपलब्ध नहुँदा किसानले ठूलो समस्या भोग्ने गरेका छन्। यदि नेपालमै अमोनिया र युरिया उत्पादन गर्न सकियो भने कृषि क्षेत्रमा ठूलो परिवर्तन आउन सक्छ। मल आयातमा खर्च हुने विदेशी मुद्रा बचत गर्छ। किसानलाई समयमै मल उपलब्ध गराउँछ। कृषि उत्पादन बढाउन सहयोग पुर्‍याउँछ। खाद्य सुरक्षामा योगदान पुर्‍याउँछ। ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँछ।

यस दृष्टिले हेर्दा ग्रीन हाइड्रोजन परियोजना ऊर्जा क्षेत्रको मात्र होइन, कृषि क्रान्तिको आधार पनि बन्न सक्छ। आर्थिक लाभका नयाँ ढोका खोल्ने । नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्समा निर्भर रहँदै आएको छ। उत्पादनमूलक उद्योगको विस्तार अपेक्षित रूपमा हुन सकेको छैन। ग्रीन हाइड्रोजन उद्योगले देशमा नयाँ औद्योगिक युगको सुरुवात गर्न सक्छ। हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुन सक्छ।
विदेशी लगानी आकर्षित गर्न सकिन्छ। प्रविधि हस्तान्तरणको अवसर प्राप्त हुन्छ। निर्यातमुखी उद्योगको विकास हुन्छ।
औद्योगिकीकरणलाई नयाँ गति मिल्छ। भविष्यमा नेपालले केवल विद्युत् मात्र होइन, ग्रीन अमोनिया, ग्रीन हाइड्रोजन र सम्बन्धित रसायनहरू समेत निर्यात गर्न सक्ने सम्भावना छ।

वातावरणीय लाभ

विश्व आज जलवायु परिवर्तनको गम्भीर चुनौतीसँग जुधिरहेको छ। कार्बन उत्सर्जन कम गर्ने लक्ष्यका साथ धेरै राष्ट्रहरूले ग्रीन हाइड्रोजनलाई प्राथमिकतामा राखेका छन्।
ग्रीन हाइड्रोजनको प्रयोगले:
हरितगृह ग्यास उत्सर्जन घटाउँछ।
जीवाश्म इन्धनमा निर्भरता कम गर्छ।
स्वच्छ ऊर्जा प्रणाली निर्माण गर्छ।
दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुर्‍याउँछ।

नेपालले आफूलाई जलवायु परिवर्तनको पीडित राष्ट्रका रूपमा मात्र नभई समाधान प्रस्तुत गर्ने राष्ट्रका रूपमा पनि स्थापित गर्न सक्छ।
विश्वका सफल उदाहरणहरू  जापानले ग्रीन हाइड्रोजनलाई भविष्यको ऊर्जा रणनीतिको केन्द्रमा राखेको छ। सार्वजनिक यातायातदेखि औद्योगिक उत्पादनसम्म हाइड्रोजनको प्रयोग विस्तार गरिरहेको छ।

युरोपको औद्योगिक शक्ति जर्मनीले अरबौं युरो लगानी गरेर ग्रीन हाइड्रोजन पूर्वाधार निर्माण गरिरहेको छ। जर्मनीको लक्ष्य उद्योग तथा यातायात क्षेत्रलाई क्रमशः हरित ऊर्जामा रूपान्तरण गर्नु हो।

अष्ट्रेलियाले विशाल नवीकरणीय ऊर्जा स्रोतको उपयोग गर्दै विश्वकै प्रमुख ग्रीन हाइड्रोजन निर्यातकर्ता बन्ने रणनीति अपनाएको छ। त्यहाँका परियोजनाहरूले हजारौं रोजगारी सिर्जना गरेका छन्।

तेलमा आधारित अर्थतन्त्र भएको साउदी अरेबियाले समेत भविष्यको ऊर्जा बजारलाई ध्यानमा राख्दै विश्वकै ठूलो ग्रीन हाइड्रोजन परियोजनामध्ये एक निर्माण गरिरहेको छ। यसले विश्व ऊर्जा बजारको दिशा परिवर्तन भइरहेको संकेत गर्दछ।

यी उदाहरणहरूले ग्रीन हाइड्रोजन केवल एउटा प्रयोगात्मक अवधारणा नभई आगामी दशकको प्रमुख आर्थिक अवसर भएको प्रमाणित गर्छन्।

यद्यपि सम्भावना विशाल छ, केही चुनौतीहरू पनि छन्।

प्रारम्भिक लगानी अत्यन्त ठूलो हुन्छ।
उन्नत प्रविधि आवश्यक पर्छ।
दक्ष जनशक्ति विकास गर्नुपर्छ।