काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार मोहनकुमार डाँगी स्वतः अध्यक्षमा चयन भएका छन् ।
इप्पानको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार डाँगी स्वतः अध्यक्ष बन्नुभएको हो। त्यसैगरी उत्तम भ्लोन लामा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षहरूमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, बिक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा टेकनाथ आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई तथा सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनको सबैभन्दा प्रतिस्पर्धात्मक पद कोषाध्यक्षमा शंकर बस्याल २६७ मतसहित विजयी भयाे। उनका निकटतम प्रतिद्वन्द्वी मिथुन चक्रवर्ती प्रसाद पौडेल ले ८२ मत प्राप्त गरे ।
सदस्य (खुला) तर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध चयन भएका छन्। साथै विधानअनुसार सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापा लाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ।
निर्वाचनमा कोषाध्यक्ष पदबाहेक सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए। वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुने अपेक्षा गरिए पनि सहमतिपछि बलराम खतिवडा ले उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका थिए।
नवनिर्वाचित अध्यक्ष डाँगीले आफ्नो कार्यकालमा सामूहिक नेतृत्व, नीतिगत सुधार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले ‘सँगै जाने र सँगै अघि बढ्ने’ मूल मन्त्रका साथ इप्पानलाई थप प्रभावकारी बनाउने बताउँदै सात विषयगत समिति र दुई उपसमिति गठन गरिने जानकारी दिए।
ऊर्जा क्षेत्रमा युवा सहभागिता बढाउन ‘जुनियर इप्पान’ अवधारणा अघि सारिने तथा अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न सातदेखि नौ सदस्यीय विज्ञ सल्लाहकार समूह गठन गरिने उहाँको भनाइ छ। साथै ऊर्जा क्षेत्रको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।