बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘प्रधानमन्त्रीले निम्त्याएको संकट समाधान दुई जनाको हातमा’

बुधबार, जेष्ठ २७ २०८३

नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा विद्यमान संकट समाधान प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हातमा रहेको बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री साहको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिका कारण संकट निम्तिएकाले समाधान पनि उनैले दिनुपर्नेमा जोड दिए । संसद्को रोष्टममा उभिएर साहले गम्भिर भूल थियो भनी स्वीकार गरेमा संकटको निकास निस्कने बताए ।

प्रधानमन्त्रीले त्यसो नगरे सभापतिको हैसियतमा लामिछानेले उक्त वक्तव्य फिर्ता लिन निर्देशन दिनसक्ने बादलको भनाइ छ । त्यसो हुँदा संसदको गतिरोध अन्त्य भएर जाने उनले बताए ।

‘यो संकटको समाधान कसको हातमा छ त ? भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझ्दाखेरी यो संकटको समाधान वा संकटमोचक दुई जना पात्रहरुको हातमा छ’, उनले भने, ‘ती दुई जना पात्र भनेको सम्माननीय प्रधानमन्त्री । उहाँले यो रोष्टममा आएर मैले जो बोले, नेपालको भारतका धेरै जग्गाहरु मिचेको छ भनेर जो मैले भनेँ यो इतिहासको तथ्यसँग मेल खाँदैन। यो मेरो ठूलो ऐतिहासिक भूल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ । रास्वपाका सभापतिले त्यो वक्तव्य तपाईले फिर्ता लिनुपर्छ भनेर आफ्नो पार्टीको सदस्यलाई त्यो निर्देशन दिनु भयो भने पनि यो संकट हल हुन सक्छ ।’

तेस्रो विकल्पको रुपमा प्रधानमन्त्रीले दिएको उक्त वक्तव्य सभामुख डोलप्रसाद अर्यालले संसदको रेकर्डबाट हटाउन रुलिङ गर्दा पनि अहिलेको संकट बादलको प्रस्ताव छ ।

‘तेस्रो पनि अर्को समाधान छ । तेस्रो समाधान भनेको सम्मानीय सभामुखको हातमा छ । सभामुखले प्रधानमन्त्रीले बोलेको वक्तव्यहरुलाई ती तथ्यहीन वक्तव्यलाई यो संसदको अभिलेखबाट हटाउने रुलिङ गर्नुभयो भने पनि यो संकटको हल हुनसक्दछ भन्ने हामीलाई लागेको छ’, उनले भने ।

नेता बादलले प्रधानमन्त्री साहले राष्ट्रविरोधी, तथ्यहीन वक्तव्य संसदमा दिएकाले त्यसको विरोध गर्नुपर्ने बाध्यकारी अवस्था आएको पनि उल्लेख गरे ।