बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जेनजी विध्वंशमा फरार कैदी पक्रन विशेष अपरेसन

बुधबार, जेष्ठ २७ २०८३

प्रहरी हत्यापछि जेल सजाय भोगिरहेका तर जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक फरार कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। प्रहरी जवान हत्या अभियोगमा सजाय भोगिरहेका कपिलवस्तुको महाराजगञ्ज–बन्जरिया बस्ने रामजैस मुराउ पुनः पक्राउ परेका हुन्।

भदौ २४ गतेको जेनजी विध्वंशका क्रममा नख्खु कारागारबाट भागेका उनलाई कृष्णनगर प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनीमाथि कैदीबन्दी भागे–भगाएको सम्बन्धमा अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

अपराधिक पृष्ठभूमिका मुराउले २०६२ सालमा स्थानीय दीनानाथ उपाध्यायमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घटनामा कृष्णनगर प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। अदालतबाट दोषी ठहर भई फरार रहेका मुराउ २०६३ साल कात्तिक २५ गते बहादुरगञ्जमा कार्यरत प्रहरी जवान नवीन गुरुङको हत्या गरी फरार भएका थिए।

सोही वर्षको माघ १९ गते पक्राउ परेका मुराउलाई कपिलवस्तु जिल्ला अदालतले प्रहरी जवान हत्या अभियोगमा २० वर्ष र उपाध्यायको ज्यान मार्ने उद्योगमा ६ वर्ष कैद सजाय तोकी कारागार पठाएको थियो।

कपिलवस्तु कारागारमा कैद भुक्तान गरिरहेका मुराउले २०६६ साल माघ १ गते ६० मिटर लामो सुरुङ खनी आफू, श्रवणकुमार मुराउसहित आठ जना कैदीबन्दी भगाएका थिए। कपिलवस्तु प्रहरीले मुराउलाई २०६८ साल वैशाखमा पुनः पक्राउ गरी कैदीबन्दी भागे–भगाएको कसुरमा मुद्दा चलाएको थियो। उक्त मुद्दामा जिल्ला अदालतले २५ वर्ष ३ महिना कैद सजाय तोकेको थियो।