बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनएमबी बैंककाे ‘इन्डो–नेपाल रेमिट्यान्स’ सेवा, भारत–नेपालबीच तुरुन्तै पैसा पठाउन सकिने

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । एनएमबी बैंक लिमिटेड ले नेपाल–भारतबीच सहज, सुरक्षित र छिटो रूपमा रकम आदान–प्रदान गर्न सकिने ‘इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको उक्त सेवामार्फत अब भारतबाट नेपालमा तथा नेपालबाट भारतमा रकम पठाउन र प्राप्त गर्न अझ सहज हुने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ सेवाले परम्परागत रेमिट्यान्स प्रक्रियामा हुने झन्झट र ढिलाइलाई न्यूनीकरण गर्नेछ। भारतबाट रकम पठाएपछि एनएमबी बैंकमा रहेको ग्राहकको व्यक्तिगत खातामा रकम तत्काल जम्मा हुने व्यवस्था गरिएको छ।

सेवाको अर्को विशेषता भनेको लामो बैंक खाता नम्बर साझा गर्नुपर्ने आवश्यकता हटाइनु हो। ग्राहकलाई बैंकले विशेष ‘भर्चुअल ठेगाना’ उपलब्ध गराउनेछ, जसको प्रयोग गरेर सहज रूपमा रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ।

बैंकले यो सेवालाई सबै ग्राहकको पहुँचमा पुर्‍याउन सरल प्रक्रिया अपनाएको जनाएको छ। ग्राहकहरूले मोबाइल बैंकिङ एप, बैंकको वेबसाइट वा नजिकको शाखामा पुगेर कर्मचारीको सहयोगमा समेत सेवा सक्रिय गर्न सक्नेछन्।

व्यक्तिगत तथा पारिवारिक प्रयोजनका लागि भारतबाट रकम प्राप्त गर्ने ग्राहकलाई यस सेवाले थप सुविधा प्रदान गर्ने विश्वास बैंकले लिएको छ। साथै, कारोबारको सुरक्षा सुनिश्चित गर्न बैंकको आन्तरिक प्रणालीमार्फत निरन्तर निगरानी र सुरक्षा व्यवस्था गरिएको जनाइएको छ।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।