बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

५६ जिल्लामा रास्वपाको जिल्ला अधिवेशन सम्पन्न, आजदेखि प्रदेश अधिवेशन

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप सञ्चालन गरेको जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका अनुसार देशभरका ७७ जिल्लामध्ये बाँकी जिल्लाहरूमा निर्वाचन प्रक्रिया विभिन्न चरणमा अघि बढिरहेको छ।

रास्वपाका केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको, एक जिल्लामा अधिवेशन स्थगित गरिएको तथा पाँच जिल्लामा अधिवेशन सुरु हुन बाँकी रहेको छ। पार्टीले जेठ २३ गतेदेखि देशव्यापी रूपमा जिल्ला अधिवेशन सुरु गरेको थियो।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै केन्द्रीय कार्यतालिका अनुसार मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशनको औपचारिक सुरुवात हुने जनाइएको छ।

पार्टीका प्रवक्ता मनीष झाले हालसम्म सम्पन्न भएका अधिकांश जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत चयन भइसकेको जानकारी दिए। उनका अनुसार केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने विशेषगरी मधेश प्रदेशका केही जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गामा अधिवेशन सम्पन्न भइसकेको छ। उदयपुरमा भने निर्वाचन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा नयाँ नेतृत्व चयन भइसकेको छ भने धनुषा, सप्तरी र बारामा निर्वाचनको कार्यतालिका तय गरिएको छ।

बागमती प्रदेशका काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ। सिन्धुपाल्चोकको अधिवेशन भने विशेष कारणवश हाललाई स्थगित गरिएको छ।

गण्डकी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि बाग्लुङ र नवलपुरमा निर्वाचन प्रक्रिया सुरु हुन बाँकी रहेको छ। लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भएसँगै उक्त प्रदेश शतप्रतिशत जिल्ला अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेश बनेको रास्वपाले जनाएको छ।

कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ। डोल्पा, हुम्ला र रुकुम पूर्वमा अधिवेशन सुरु हुन बाँकी रहेको छ।

सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा नेतृत्व चयन भइसकेको छ। डोटी र बाजुरामा प्राविधिक कारणले पुनः निर्वाचन गरिने तयारी छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने भौगोलिक तथा अन्य कारणले अधिवेशन सुरु हुन सकेको छैन।

यसअघि वडा र पालिका तहको अधिवेशन सम्पन्न गरिसकेको रास्वपाले जिल्ला अधिवेशनमार्फत संगठनलाई तल्लो तहसम्म संस्थागत र सुदृढ बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

पार्टी नेतृत्वले तल्लो तहबाट प्रत्यक्ष नेतृत्व चयन गर्ने प्रक्रियालाई आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरेको छ। रास्वपाले आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।