काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आज समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा आयोजना गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जनासम्म प्रतिनिधिलाई बैठकमा आमन्त्रण गरिएको छ। यसका लागि सम्बन्धित दलहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको जनाइएको छ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले हालै सम्पन्न आफ्नो तथा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउने कार्यक्रम रहेको छ। साथै, संसद्मा देखिएको गतिरोध, समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा पनि छलफल हुने बताइएको छ।
यद्यपि, सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन्। कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम बैठकमा सहभागी हुने जनाइएको छ।