काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका एक चालक ५४ लाख ७१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका कमलनारायण विश्वास रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सोमबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार विश्वास बाटिक एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका थिए। राति करिब साढे ८ बजे विमानस्थलमा जाँचका क्रममा उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न देशका विदेशी मुद्रा बरामद गरिएको थियो।
बरामद मुद्रामा अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकाली मुद्रा, जापानी येनलगायत अन्य विदेशी मुद्रा रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विश्वास विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समा चालकका रूपमा कार्यरत रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।