काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेका बेला नेतृत्व परिवर्तनको बहस उठाइनु गैरजिम्मेवार र “अपराधिक मानसिकता” भएको बताएका छन्।
एमाले सचिवालय बैठकमा आफूले प्रस्तुत गरेका २४ बुँदे धारणा मध्ये दुई बुँदालाई लिएर गलत प्रचार गरिएको भन्दै उनले स्पष्टिकरण दिएका हुन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, अध्यक्ष ओलीलाई पक्राउ गरिएको २४ घण्टा नबित्दै हिरासतमा राखिएको र कुनै आरोप पुष्टि हुन नसकेपछि अदालतले १३ दिनपछि रिहा गरेको उल्लेख गरेका छन्। त्यसपछि चिकित्सकको सल्लाहमा उनलाई टिचिङ अस्पतालमा भर्ना गरी पत्थरी र हर्नियाको शल्यक्रिया गरिएको उनले बताएका छन्।
उनका अनुसार शल्यक्रियापछि पनि ओली निमोनिया र संक्रमणसँग जुधिरहेका बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा नेतृत्व परिवर्तनको विषय उठाइनु अनुचित भएको बताएका हुन्।
यस्तै, कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ले साम्राज्यवादी शक्ति, अल्गोरिदममार्फत युवाको परिचालन तथा राज्य संयन्त्रको दुरुपयोग गरी निर्वाचन परिणाम प्रभावित पारिएको विषयमा राखेको धारणा सच्याउने निर्णय गर्नु पनि गल्ती भएको बस्नेतको भनाइ छ।