काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ ।
आजको बैठकमा अध्यक्ष ओलीले पदाधिकारीहरूले उठाएका प्रश्न र धारणा सम्बन्धमा जवाफ दिने कार्यसूची रहेको छ । त्यसअघि बोल्न बाँकी नेताहरूले आफ्नो धारणा राख्नेछन् ।
गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली र संगठनात्मक विषयमा आ–आफ्ना धारणा राख्दै आएका छन् । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्व हस्तान्तरण गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।
अध्यक्ष ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत खुलेर उभिएका छन् । उनीहरूले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि प्रत्यक्ष समर्थन नगरी वर्तमान अवस्थामा पार्टी अघि बढ्न कठिन रहेको संकेत गरेका थिए । त्यस्तै उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ तथा सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेलले पनि ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
यसअघि शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले पनि नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेका थिए । उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको समर्थनमा देखिएका छन् ।
आजको बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्ने कार्यक्रम रहेको छ । सबै नेताहरूको धारणा सकिएपछि अध्यक्ष ओलीले समग्र विषयमा आफ्नो जवाफ प्रस्तुत गर्नेछन् ।