मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पाँचथरमा बाढीपहिरोको कहर : चार परिवार विस्थापित, सडक र पुलमा ठूलो क्षति

आइतबार, जेष्ठ १० २०८३

पाँचथर । अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरमा चार परिवार विस्थापित भएका छन् भने सडक, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ ।

याङवरक गाउँपालिका–१ मा पहिरोले घर बगाउँदा लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएका हुन् । मोहनलाल र कबिर खवासका सात जना आफन्त शान्ता खवासको घरमा आश्रय लिइरहेका छन् भने गङ्गाप्रसाद बेघाको ६ सदस्यीय परिवार दाजु दुर्गा बेघाको घरमा बसेको छ ।

सोही क्षेत्रका भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि परिवारका ६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

बाढीपहिरोका कारण याङवरक–१ का विभिन्न बस्तीका दर्जनौँ घर जोखिममा परेका छन् । कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा खोलाघारी मगरडाँडाका स्थानीय त्रासमा रहेका छन् ।

बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । साथै निर्माणाधीन दुई सडक पुलसमेत बगाएको प्रहरीले जनाएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो पुल बाढीले बगाएको छ । पुलसँगै सडक र डाइभर्सनसमेत क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन तथा फलामे पाइपलगायत सामग्री बगाएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए ।