मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

तातो हावा र ‘लु’ को जोखिम बढ्दै, यी हुन् प्रभावित जिल्ला

शनिबार, जेष्ठ ९ २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागले शुक्रबार साँझ जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिनसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना रहेको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

विभागका मौसमविद् सञ्जिव अधिकारी का अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम तातो हावाको लहर तथा पहाडी क्षेत्रमा तातो दिन रहने सम्भावना छ ।

उहाँका अनुसार सुदूरपश्चिमका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा यही जेठ ६ गतेदेखि नै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भइरहेको छ । साथै दुवै प्रदेशका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले जनाएको छ ।

प्रभावित जिल्ला

विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई निगरानी तथा अद्यावधिक गर्नुपर्ने सूचीमा राखिएको छ ।

स्वास्थ्यमा पर्न सक्ने असर

विभागका अनुसार अत्यधिक गर्मीका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता समस्या देखिन सक्छन् ।

विभागले सुझाएका सावधानी

  • अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने
  • अनावश्यक रूपमा बाहिर ननिस्किने
  • चर्को घाममा हिँडडुल नगर्ने
  • हल्का र सुतीका कपडा लगाउने
  • बाहिर जाँदा टाउको छोप्ने वा टोपी प्रयोग गर्ने
  • नियमित रूपमा प्रशस्त पानी, जुस तथा झोल पदार्थ सेवन गर्ने
  • स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने

विभागले दैनिक मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक मौसमी जानकारी लिन पनि अनुरोध गरेको छ ।