बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौँ उपत्यकामा २४ घण्टामा १,९२२ सवारी चालक कारबाहीमा

शनिबार, जेष्ठ ९ २०८३

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ ।

ट्राफिक कारबाहीबाट रु १९ लाख ७० हजार दुई सय राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्ती उल्लङ्घन गर्ने १२६, तीव्र गतिमा चलाउने १३१, लेनक्रस गर्ने ७३, फुटपाथ प्रयोग गर्ने ९०, हर्न निषेध उल्लङ्घन गर्ने ९५, एकतर्फी सडकमा चलाउने १०५ तथा अन्य कसुरमा ९८६ जना चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएकाले यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैबीच, काठमाडौँको थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा पाँच जना चालकलाई नियन्त्रणमा लिइएको छ । बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक यातायातलाई सुरक्षित बनाउन विशेष अभियानअन्तर्गत उक्त चेकिङ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो, उपत्यका ट्राफिक प्रहरी कार्यालय र ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले नेपाल प्रहरी अस्पताल को प्राविधिक सहयोगमा चालकहरूको विशेष परीक्षण गरेको थियो ।

नियन्त्रणमा परेकामध्ये दुई जना बस चालक, एक जना मिनीट्रक चालक, एक जना लाइट गाडी चालक र एक जना हात्तीभ्यान चालक रहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।