मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमाले सचिवालय बैठक आज पनि बस्दै, नेतृत्व रूपान्तरणको बहस चर्कियो

शनिबार, जेष्ठ ९ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बिहान साढे ११ बजे सुरु हुने तय भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा सचिवालय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । हिजो बोल्न बाँकी रहेका नेताहरूले आज आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

हिजोको बैठकमा बोल्ने केही सदस्यहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए । आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ तथा योगेश भट्टराई लगायतले धारणा राख्ने कार्यक्रम रहेको छ ।

बैठकमा आएका सुझावका आधारमा पार्टीको कार्यविभाजनका लागि प्रस्तावित नामहरू संशोधन हुनसक्ने बताइएको छ ।

यसअघि शुक्रबारको बैठकमा पार्टीका चार उपाध्यक्षहरूले नेतृत्व रूपान्तरण र पुस्तान्तरणको आवश्यकता औँल्याएका थिए । उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त ले पार्टी रूपान्तरण र पुस्तान्तरणको पक्षमा धारणा राखेका हुन् ।

उपाध्यक्ष रामबहादुर थापा ले भने अध्यक्ष ओलीकै नेतृत्वको पक्षमा मत व्यक्त गरेका थिए ।

बैठकमा सहभागी एक उपाध्यक्षका अनुसार पार्टीभित्र रूपान्तरणको विषयमा व्यापक बहस सुरु भएको छ भने अन्य नेताहरूले पनि यसबारे धारणा राख्न बाँकी रहेको बताएका छन् । पाँच उपाध्यक्षहरूको धारणा सुनेपछि शुक्रबारको बैठक स्थगित गरिएको थियो ।