काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले सभामुख डोलप्रसाद अर्याल को भूमिकामाथि प्रश्न उठाएको छ । संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग भइरहँदा सभामुखले त्यसबारे स्पष्ट रुलिङ नगरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राई ले विपक्षी दलहरूले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निरन्तर प्रयास गरिरहेको बताए । उनले सभामुखबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै सरकारले पनि संसद्प्रति जवाफदेही बन्न नचाहेको टिप्पणी गरे ।
राईले श्रम संस्कृति पार्टी का सांसदहरूले पछिल्ला बैठकहरूमा सरकारको जवाफदेहिताको माग गर्दै प्लेकार्ड प्रदर्शन गरिरहेको उल्लेख गर्दै सभामुखले त्यसलाई अमर्यादित भनेकोप्रति आपत्ति जनाए । उनले अहिले सत्तामा रहेका दलहरू विगतमा प्रतिपक्षमा रहँदा संसद्को वेल घेरेर विरोध गरेको स्मरण गराउँदै अहिलेको विरोधलाई मात्र अमर्यादित भन्न नमिल्ने धारणा राखे।
उनले अघिल्लो संसद् कार्यकालमा विपक्षी सांसदहरूले वेलमा बसेर पुस्तक पढ्दै विरोध जनाएको प्रसंगसमेत उल्लेख गर्दै संसदीय मर्यादाको मापदण्ड सबैका लागि समान हुनुपर्ने बताए । सरकार र प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै उनले सदनप्रति सरकार उत्तरदायी बन्न नचाहेको टिप्पणी गरे ।
बैठकका क्रममा विपक्षी सांसदलाई बोल्न दिइने समयलाई लिएर सभामुख र सांसदहरूबीच सवालजवाफसमेत भएको थियो । सभामुख अर्यालले एमाले प्रमुख सचेतक ऐन महर लाई एक मिनेट समय दिनुभएको थियो । समय अपुग हुने प्रतिक्रिया आएपछि उहाँले श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई समय दिए ।
पछि नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल लाई पनि एक मिनेट समय दिइएको थियो । तर उनले बोल्न अस्वीकार गरेपछि सभामुख र विपक्षी सांसदबीच थप विवाद भएको हो ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह संसद् बैठकमा उपस्थित हुने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री संसद्मा नआउने भन्ने अवस्था नरहेको उल्लेख गरे ।
सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद्मा किन उपस्थित गराउन नसकिएको भन्ने प्रश्न गर्दा सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागी हुने बताए । तर, कहिले सहभागी हुने भन्नेबारे स्पष्ट जानकारी दिएनन् ।
फरक प्रसंगमा उनले पार्टीको महाधिवेशन गर्न ढिला भएको स्वीकार गर्दै यसअघि तय गरिएको कार्यतालिका विशेष कारणले सार्नुपरेको बताए ।
उता सभामुख अर्यालले सांसदले मागेअनुसार समय दिँदै जान नसकिने चेतावनी दिएका छन् । त्यसक्रममा उनले एमाले प्रमुख सचेतक महरसँग “कति समय दिए पुग्छ ?” भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा महरले समय निर्धारण सभामुखकै जिम्मेवारी भएको प्रतिक्रिया दिए ।