सत्तारुढ दलका नेताहरू रफ्फु लगाउँदै हिँडेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार नभएको आरोप लगाउँदै सभामुख डोलप्रसाद अर्यालमाथि पनि संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद राईले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्ने दायित्व भए पनि त्यसविपरीत व्यवहार भइरहेको टिप्पणी गरे । उनले प्रधानमन्त्री सदनप्रति उत्तरदायी नबनेको, संसदप्रति ‘एलर्जी’ देखाएको तथा स्थापित संसदीय परम्परा भत्काउँदै हिँडेको आरोप लगाए ।
काँग्रेसका सचेतक राईले प्रधानमन्त्रीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि समेत हस्तक्षेप गर्ने प्रवृत्ति देखाएको दाबी गरे । उनले वर्तमान सरकार ‘क्रमभङ्गता’ शब्दमा रमाइरहेको भन्दै सत्तारुढ दलका नेताहरू रफ्फु लगाउँदै हिँडेको टिप्पणीसमेत गरे ।
सभामुख डोलप्रसाद अर्यालप्रति लक्षित गर्दै उनले संसदलाई सरकारप्रति उत्तरदायी बनाउन विपक्षी दलहरूले गरेको प्रयासमा सभामुखले साथ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । संसदको अभिभावकको भूमिकामा रहेका सभामुखले संसदीय मर्यादा “एक इन्च पनि तलमाथि हुन नदिने” जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद राईले विगतमा विपक्षमा हुँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गरेको प्रसंग स्मरण गर्दै अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिएका श्रम संस्कृति पार्टीका सांसदहरूलाई कसरी अमर्यादित ठहर गरिएको भनी प्रश्नसमेत उठाए ।