जनकपुर । कृषि क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण चालु आर्थिक वर्षमा मधेस प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकमा आर्थिक वृद्धि दर एक दशमलव ३१ प्रतिशतमा सीमित रहने उल्लेख गरिएको हो ।
कार्यालयका तथ्याङ्क अधिकृत नरबहादुर कुँवरका अनुसार पर्याप्त वर्षा नहुँदा धान तथा मत्स्य उत्पादनमा नकारात्मक असर परेको छ । यसका साथै वन क्षेत्रको योगदानसमेत तुलनात्मक रूपमा घटेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अवस्था देखिएको उनले बताए ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशको आर्थिक वृद्धि दर तीन दशमलव १८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा यो दर घटेर दुई दशमलव ७२ प्रतिशतमा पुगेको थियो । लगातार दुई वर्षदेखि कृषि उत्पादनमा आएको गिरावटले प्रदेशको समग्र आर्थिक वृद्धिदर खस्किँदै गएको कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने उल्लेख गरिएको छ ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिको योगदान घट्दा आर्थिक क्षेत्रमा प्रत्यक्ष असर परेको बताए । उनले आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिने जानकारी दिए ।