बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुकुम्बासीमाथि अमानवीय व्यवहार भएको छ, २५ हजार रुपैयाँ दिने प्रस्ताव अपर्याप्त : एमाले

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरूलाई सरकारले दिने भनिएको राहत रकम अपर्याप्त भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्बासीलाई गरेको व्यवहार अमानवीय भएको आरोप लगाए ।

उनले सरकारले जेठ, असार र साउन महिनाका लागि प्रतिपरिवार १५–१५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको र अस्थायी बसोबासका लागि २५ हजार रुपैयाँ दिने प्रस्ताव पनि अपर्याप्त रहेको भन्दै आपत्ति जनाए ।

“सरकारले तयारीबिना नै बसोबासबाट हटाएर सुकुम्बासीलाई १५–१५ हजार रुपैयाँ दिने भनेको छ । पाँच सदस्यीय परिवारका लागि यो रकमले काठमाडौं आसपासमा बाँच्न पनि कठिन हुन्छ,” सांसद बरालले भने ।

उनले अस्थायी बसोबासका नाममा दिइएको व्यवस्था पनि व्यवहारिक नभएको भन्दै स्थायी समाधानको माग गरे ।

सांसद बरालले होल्डिङ सेन्टरमा सुकुम्बासीहरू अमानवीय अवस्थामा राखिएको, सुत्केरी महिला कुपोषणको जोखिममा परेको, बालबालिका विद्यालय जान नपाएको तथा परिवारहरू अलग–अलग राखिएको भन्दै सरकारको कडा आलोचना गरे ।