मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कांग्रेस विभाजनको संघारमा, इतर पक्षद्वारा समानान्तर कार्यालय स्थापना

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिखेर इतिहासकै गम्भीर आन्तरिक संकटमा पुगेको छ। आगामी १५औँ महाधिवेशनको मिति तय भइसकेको अवस्थामा पार्टीभित्रको नीतिगत र सांगठनिक विवाद उत्कर्षमा पुग्दा कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ।

विशेष महाधिवेशनपछि पूर्व–कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन इतर समूहले देशभर समानान्तर गतिविधि तीव्र बनाएको छ। उक्त समूहले छुट्टै सांगठनिक संरचना र कार्यालय स्थापना गर्दै नेतृत्वमाथि दबाब बढाएको छ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै खड्काले पार्टी विभाजनको बाटोमा पुगेको संकेत दिएका थिए। उनले कांग्रेस मिलाउने कि फुटाउने भन्ने जिम्मेवारी सभापति गगन थापा कै हातमा रहेको टिप्पणी गर्दै थापा सानेपाको मात्र नभई सिंगो कांग्रेसको नेता बन्नुपर्ने बताएका छन्।

इतर समूहले स्थानीय तहदेखि केन्द्रसम्म समानान्तर संरचना सञ्चालन गर्दै आफूहरूको “सम्मानजनक व्यवस्थापन” नभए पार्टी जुनसुकै बेला फुट्न सक्ने चेतावनी दिएको छ।

यता सभापति थापाले भने विवाद समाधानका लागि लचिलो र समन्वयकारी रणनीति अघि सारेका छन्। प्रजातान्त्रिक विचार समाजको साधारणसभामा बोल्दै उनले पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न आफू सबै पक्षलाई साथमा लिएर अघि बढ्न तयार रहेको बताएका छन्।

थापाले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल केन्द्रीय समितिबाट बाहिर रहेका नेताहरूलाई उचित सम्मानसहित पुनः जिम्मेवारीमा ल्याउन सकिने संकेत दिएका छन्। साथै, विशेष महाधिवेशनमा सहभागी भए वा नभएको आधारमा कसैलाई विभेद नगरिने स्पष्ट पारेका छन्।

यद्यपि, यसअघि इतर समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्ट पक्ष थप आक्रोशित बनेको बताइएको छ।

पार्टीभित्रको यही संघर्षको असर क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा समेत परेको छ। संस्थापन पक्षले ‘जरा अभियान’मार्फत सदस्यता नवीकरण अभियान चलाइरहेको छ भने इतर पक्षले त्यसलाई बार्गेनिङको माध्यम बनाउँदै सदस्यता अद्यावधिक नगर्न कार्यकर्तालाई दबाब दिएको आरोप छ।

सभापति थापाले डिजिटल वा भौतिक रूपमा वडा कार्यालय पुगेर सदस्यता नवीकरण गर्न आग्रह गरिरहेका छन्। तर इतर समूहले सदस्यता अद्यावधिक भए कांग्रेस कमजोर बन्ने प्रचार गरिरहेको बताइएको छ।

आन्तरिक विवादका कारण वैशाख मसान्तभित्र सक्ने भनिएको सदस्यता अद्यावधिक प्रक्रिया प्रभावित भएपछि समयसीमा आगामी २१ जेठसम्म थप गरिएको छ।

राजनीतिक विश्लेषकहरूले सर्वोच्च अदालतबाट महाधिवेशनको वैधानिकता सुनिश्चित भइसकेको अवस्थामा समेत समानान्तर गतिविधि, छुट्टै कार्यालय स्थापना र शीर्ष नेताहरूबीचको शक्ति संघर्षले कांग्रेसको ऐतिहासिक विरासत र सैद्धान्तिक धरातलमाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरेका छन्।

कांग्रेस फुट्ने सम्भावना तत्काल छैन : वीरबहादुर बलायर

यसैबी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन्।

प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका नेताहरूले सबै पक्षलाई समेट्न सके पार्टी विभाजन नहुने दाबी गरे।

‘अहिले पनि ठूलो ताकत सानेपाभन्दा बाहिर छ। सानेपा र बाहिर रहेको शक्ति एकै ठाउँमा जानुपर्छ। त्यसका लागि गगन थापाले समाधानको बाटो दिनुपर्छ,’ उनले भने, ‘तत्काल पार्टी फुट्दैन। अहिलेको नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ।’

बलायरले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेताहरूलाई अपमानजनक व्यवहार गर्न नहुने बताए। उनले विगतका नेतृत्वकर्ताको सम्मान जोगाउँदै पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिए।

‘नियमित अधिवेशन र विशेष अधिवेशनपछि कांग्रेसको नेतृत्व स्थापित भयो। अदालत र निर्वाचनले आधिकारिकता दिएपछि हामीले निर्णय स्वीकार गरेका छौँ,’ उनले भने, ‘तर कानूनी रूपमा स्वीकार गरे पनि कांग्रेस अहिले भावनात्मक रूपमा एक ठाउँमा छैन।’

बलायरले शेरबहादुर देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई पार्टी फुटको संकेतका रूपमा नलिन आग्रह गरे।

उनले १० गते सुदूरपश्चिममा आयोजना हुने कार्यक्रमले कांग्रेसको आगामी रणनीतिक दिशा तय गर्ने संकेत समेत गरे।

कांग्रेसले पछिल्लो निर्वाचनमा इतिहासकै ठूलो पराजय भोगेको उल्लेख गर्दै उनले अब सबै पक्षलाई एकताबद्ध बनाएर स्थानीय तथा प्रदेश निर्वाचनमा बलियो शक्तिका रूपमा उभिनुपर्ने आवश्यकता औँल्याए।