बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सामाजिक सञ्जालमा स्टाटस लेखेका बैंकका कर्मचारी खड्का मृत फेला

मंगलबार, जेष्ठ ५ २०८३

काठमाडौँ ।  ग्लोबल आइएमई बैंकका विराटनगर शाखामा कार्यरत ४२ वर्षीय कर्मचारी पिताम्बर खड्का आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोल निवासी खड्का बैंकमा सिनियर अफिसर पदमा कार्यरत थिए ।

प्रहरीका अनुसार खड्का बिहीबार साँझ करिब ५ बजे घरमै झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनका बुबा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए ।

मृत्यु हुनुअघि खड्काले सामाजिक सञ्जालमा सोही बैंकका केही वरिष्ठ कर्मचारीहरूको तस्बिर पोस्ट गर्दै आफूलाई मानसिक रूपमा प्रताडित गरिएको संकेत गर्ने अभिव्यक्ति लेखेका थिए । उनले पोस्टमा “तिमीहरूले मलाई मारेका छौ” तथा अंग्रेजीमा “You bastard kill me” उल्लेख गरेका थिए । पोस्टमा उनले केही सिनियर कर्मचारीहरूको नामसमेत उल्लेख गरेका छन् ।

खड्का यसअघि झापाको चारआलीस्थित शाखामा कार्यरत रहेका थिए । पछि उनको सरुवा विराटनगर शाखामा भएको बताइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।