काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।
यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन हुन बाँकी रहेकाले आजको बैठक मुख्यतः सोही विषयमा केन्द्रित हुने बताइएको छ ।
पार्टीका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरसम्म जिम्मेवारी दिएर खटाउने तयारी गरिएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रत्येक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाइ संगठन सुदृढीकरणमा सक्रिय बनाउने योजना रहेको जनाइएको छ ।
त्यसैगरी, पार्टीका केन्द्रीय विभाग तथा विभिन्न निकायमा जिम्मेवारी बाँडफाँट गर्ने विषयमा पनि बैठकमा छलफल हुने तयारी छ ।
बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन् ।
यसका साथै सरकारले हटाएका सुकुम्बासी बस्ती, उनीहरूको व्यवस्थापन, तथा पछिल्ला सरकारी गतिविधिले जनतामा पारेको प्रभावबारे पनि सचिवालय बैठकमा छलफल हुने जनाइएको छ ।