काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई युगद्रष्टा नेता भएको बताएका छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले जनताको बहुदलीय जनवादको वैचारिक मार्गदर्शनले आज पनि आन्दोलनलाई सही दिशा दिइरहेको उल्लेख गरेका हुन्।
ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै समय बित्दै जाँदा उनीहरूको अभाव अझ गहिरिँदै गएको बताएका छन्।
उनले मदन भण्डारी आफ्नो नेता, सहयात्री र आन्दोलनका मार्गनिर्देशक भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको बताएका छन्। साथै जीवराज आश्रितलाई कुशल संगठनकर्ता भन्दै उनीहरूको योगदानले पार्टी र आन्दोलनलाई मजबुत बनाएको धारणा व्यक्त गरेका छन्।
ओलीका अनुसार जनताको बहुदलीय जनवादले समयअनुसार विचारलाई परिमार्जन गर्दै आन्दोलनलाई जनमुखी बनाएको थियो। यही वैचारिक आधारमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभियान अघि बढाइएको र पछिल्ला वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणमा सकारात्मक परिवर्तन देखिन थालेको उनले बताएका छन्।
उनले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरूको भौतिक उपस्थिति नभए पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्राका प्रेरणास्तम्भ बनेर रहेको उल्लेख गरेका छन्। ओलीले जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको नारा नभई यथार्थमा आधारित दीर्घकालीन राजनीतिक विचार भएको बताएका छन्।
उनले मदन भण्डारीको स्मरण गर्दा केवल एक नेता वा साथी गुमाएको पीडा मात्र नभई दूरदर्शी सहयोद्धा गुमाएको अनुभूति हुने उल्लेख गरेका छन्।