शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

बुधबार, बैशाख ३० २०८३

काठमाडौं । टोखा नगरपालिकाले उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनका लागि सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४६ वटा व्यवसायलाई कारबाही गरेको जनाएको छ।

नगरपालिकाले ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको हो।

अनुगमनमा नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य सङ्घ टोखा तथा उपभोक्ता हित संरक्षण मञ्चको सहभागिता रहेको थियो।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार अनुगमनका क्रममा अधिकांश व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी पसल सञ्चालन गरेको भेटिएको छ।

उनले पसलहरूमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको अभाव रहेको तथा न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको जानकारी दिए ।

नगरपालिकाका अनुसार अनुगमनका क्रममा ३९ वटा माछा–मासु पसल, दूध डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला तथा खाद्यान्न पसललाई सचेत गराइएको छ। साथै, ६ वटा पसललाई एक हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको र एउटा पसल बन्द गरिएको जनाएको छ।