चितवन । मोबाइल र आर्थिक लेनदेनको विषयमा भएको विवादपछि एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाविस–४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अगाडि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट खड्का र खनालबीच मोबाइल र आर्थिक लेनदेनको विषयमा विवाद रहेको खुलेको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक पुरीले खनालको मोबाइल खड्काले प्रयोग गर्दै आएको र मोबाइल फिर्ता माग्ने विषयमा सामाजिक सञ्जालमार्फत समेत विवाद भएको बताए ।
घटनापछि फरार रहेका खड्कालाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा सम्राट गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।