बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भैरहवाको क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुधबार, बैशाख २३ २०८३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ जना नेपाली नागरिक पक्राउ परेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना रहेका छन्। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका हुन्। घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।