काठमाडौँ । चारवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उनलाई सम्मानपूर्वक विदाइ गरिएको हो।
समारोहका क्रममा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेल लाई सङ्गठन प्रमुखको छडी तथा झण्डा हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व जिम्मेवारी सुम्पिए। साथै उनले सङ्गठनको सम्पूर्ण कार्यभारसमेत बरबुझारथ गरेका थिए।
कार्यक्रममा बोल्दै अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनकै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले सङ्गठन सुधार एक व्यक्तिको कार्यकालमा सीमित नहुने निरन्तर प्रक्रिया भएको बताउँदै राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई प्राथमिकतामा राखेर काम गरेको अनुभव सुनाए।
त्यसै अवसरमा नवनियुक्त महानिरीक्षक पौडेलले सङ्गठनका स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक तथा जनउत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई दीर्घकालीन मार्गदर्शनका रूपमा स्थापित गरिने बताए।
“उच्च नैतिक आचरण र दृढताले नै सशक्त सन्देश दिन्छ,” पौडेलले भने, “जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, र जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ।”
समारोहमा अवकाशप्राप्त महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, साथै सिनियर तथा जुनियर अधिकृत र जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।