काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै मानव जीवनको यात्रा ज्ञानको उज्यालो र समस्या समाधानको मार्गमा केन्द्रित हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले गौतम बुद्धले देखाएको मार्ग दुःख निवारणको भएको उल्लेख गरेका छन्। बुद्धका चार आर्य सत्य स्मरण गराउँदै उनले “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, र दुःख निवारण गर्ने मार्ग छ” भन्ने शिक्षाले मानव जीवनलाई सही दिशा दिने बताएका छन्।
उनले उज्यालो र अँध्यारोको उदाहरण दिँदै ज्ञानको प्रकाश फैलिँदा अज्ञानता स्वतः हट्ने उल्लेख गर्दै सबैलाई ज्ञानको खोजतर्फ अग्रसर हुन आग्रह गरेका छन्। “हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ,” उनले भनेका छन्।
शाहले शान्तिका महान् प्रवर्तक बुद्धको जन्मजयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै नेपाल भूमि बुद्धको जन्मले धन्य भएको र अहिंसा तथा शान्तिको मार्गमा अडिग रहेको उल्लेख गरेका छन्।
उनले सन्देशको अन्त्यमा “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो” भन्दै सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै “अप्प दीपो भवः” को सन्देश दिएका छन्।