काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएका अध्यादेशबारे परामर्श प्रक्रिया सुरु गरेका छन् ।
राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे वरिष्ठ कानून व्यवसायीहरूसँग छलफल गर्न लागेकाे राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। छलफलमा शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी, शेरबहादुर केसी र ललित बस्नेतलाई बोलाइएको छ।
यता, अध्यादेशका विषयमा विपक्षी दलहरू पनि सक्रिय बनेका छन्। आज बिहान साढे ११ बजे नेकपा एमाले को संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्ने भएको छ। यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बे को अध्यक्षतामा बैठक बसेको थियो।
बैठकमा सरकारद्वारा ल्याइएका अध्यादेशबारे छलफल भइरहेको र आज पनि सोही विषयमा केन्द्रित हुने युवराज दुलालले जानकारी दिए ।
यता सरकारको पक्षमा भने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले अध्यादेश नागरिकको हितका लागि ल्याइएको दाबी गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिन नहुने भन्दै अध्यादेशले राज्य संयन्त्रलाई प्रभावकारी बनाउने उल्लेख गरेका छन् ।
सरकारले वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको छ। तीमध्ये संवैधानिक परिषद्, सहकारी, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारी पदमुक्ति र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश रहेका छन्।
सरकारले यी अध्यादेशमार्फत नियुक्ति प्रक्रिया पारदर्शी बनाउने, सहकारी क्षेत्र नियमन गर्ने, प्रशासनिक जटिलता हटाउने तथा सार्वजनिक सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।