नेपालको राजनीति अहिले एउटा गम्भीर मोडमा उभिएको छ। जनताले परिवर्तनका नाममा धेरै पटक आशा गरे, धेरै पटक विश्वास गरे, तर परिणाम भने अपेक्षाअनुसार आउन सकेको छैन। शासन फेरियो, संविधान फेरियो, दल फेरिए, नेतृत्व फेरियो, तर आम नागरिकको जीवनमा स्थायी परिवर्तनको अनुभूति अझै कमजोर छ।
यही परिवेशमा आजको नेपाली राजनीतिले जन्म दिएका नेताहरूको शैली, व्यवहार, भाषण, जनताप्रतिको उत्तरदायित्व र सत्ता मोहलाई हेर्दा २३२५ वर्षअघि जन्मिएका ग्रीक दार्शनिक Diogenes (डाइओजिनिस) को विचार र जीवनशैली सम्झिनु स्वाभाविक हुन्छ।
डाइओजिनिस कुनै राजनेता थिएनन्, उनी सत्ता खोज्ने व्यक्ति थिएनन्। उनी सत्य बोल्ने, ढोंगको विरोध गर्ने, कृत्रिम जीवनशैली अस्वीकार गर्ने र समाजका कमजोरीलाई खुला रूपमा चुनौती दिने दार्शनिक थिए। उनले मानिसहरू सभ्यताको नाममा झुट, लोभ, पदलोलुपता र आडम्बरमा फसेको देखेका थिए। त्यसैले उनले सरल जीवन, स्वतन्त्र सोच र निडर सत्य बोलाइलाई आफ्नो मार्ग बनाए। आज नेपालको राजनीतिलाई हेर्दा डाइओजिनिसको त्यो विद्रोही दृष्टि अत्यन्त सान्दर्भिक देखिन्छ।
नेपालमा अहिले धेरै नेता जनताको सेवकभन्दा पनि सत्ताका दावेदार जस्ता देखिन्छन्। चुनाव आउँदा जनताको घरदैलो पुग्ने, आश्वासन बाँड्ने, सपना देखाउने, तर चुनाव जितेपछि जनताबाट टाढा हुने प्रवृत्ति बलियो छ। डाइओजिनिसले यस्तै कृत्रिम चरित्रको विरोध गरेका थिए। उनले मानिसले मुखमा नैतिकता बोल्ने तर व्यवहारमा स्वार्थ पाल्ने अवस्थालाई सबैभन्दा ठूलो कमजोरी मानेका थिए। आज हाम्रा धेरै नेताहरू भाषणमा विकास, सुशासन, पारदर्शिता र समृद्धिको कुरा गर्छन्, तर व्यवहारमा गुटबन्दी, भागबण्डा, व्यक्तिगत लाभ र पद जोगाउने खेलमा अल्झिन्छन्। यही कारण जनताको भरोसा कमजोर बन्दै गएको छ।
डाइओजिनिस दिनदहाडै बत्ती बालेर “इमानदार मानिस खोज्दैछु” भनेर शहरमा हिँड्थे भन्ने प्रसिद्ध कथा छ। त्यो प्रतीकात्मक सन्देश थियो । समाजमा सत्यनिष्ठ मानिस दुर्लभ भइसकेका छन्। नेपालमा पनि आज जनताले यस्तै अनुभूति गरिरहेका छन्। जनताले नेता खोजेका छन्, तर धेरैजसो अवस्थामा भेटिन्छन् व्यवस्थापक होइन, वक्ता; सेवक होइन, शासक; दूरदर्शी होइन, अवसरवादी। राजनीति सेवा क्षेत्र हुनुपर्नेमा पेशा र व्यापारजस्तो बन्न थालेको गुनासो व्यापक छ।
नेपालको वर्तमान राजनीतिक संस्कृतिमा अर्को ठूलो समस्या भनेको जिम्मेवारीबाट भाग्ने बानी हो। सरकार सफल हुँदा सबै श्रेय लिन चाहने, असफल हुँदा दोष अरूमाथि थोपर्ने प्रवृत्ति बारम्बार देखिन्छ। डाइओजिनिस भने आफ्नो विचारमा स्पष्ट थिए—मानिसले आफूलाई बदल्न नसके समाज बदल्ने नाटक गर्नु व्यर्थ हो। यो कुरा आजका नेताहरूले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। जबसम्म आत्मसमीक्षा हुँदैन, जबसम्म नैतिक साहस हुँदैन, तबसम्म नयाँ नारा मात्र बदलिन्छ, अवस्था बदलिँदैन।
नेपालमा गठबन्धन राजनीति, बारम्बार सरकार परिवर्तन, अस्थिर निर्णय, नीतिगत अन्योल र पद बाँडफाँडको खेलले जनतालाई थकित बनाएको छ। जनताले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पूर्वाधारमा स्पष्ट काम खोजिरहेका छन्। तर राजनीति धेरैजसो शक्ति समीकरणमै सीमित देखिन्छ। डाइओजिनिसले सत्ता र विलासितालाई मानव स्वतन्त्रताको बाधक मानेका थिए। उनको विचारमा जसलाई धेरै चाहिन्छ, ऊ स्वतन्त्र हुँदैन। आजका केही नेताहरूलाई पद, सुरक्षा, सुविधा, प्रभाव र नियन्त्रण यति आवश्यक देखिन्छ कि जनताको पीडा दोस्रो प्राथमिकतामा परेको जस्तो भान हुन्छ।
डाइओजिनिसको जीवन सरल थियो। उनी अत्यन्त न्यून साधनमा बाँचे। उनले समाजलाई सिकाए । मानिसको मूल्य सम्पत्तिले होइन, चरित्रले मापन हुनुपर्छ। नेपालमा आज राजनीति प्रवेश गर्ने धेरै व्यक्तिको जीवनशैली र सम्पत्ति वृद्धिलाई लिएर प्रश्न उठ्छन्। सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको जीवन जति पारदर्शी हुनुपर्ने हो, त्यति छैन भन्ने जनधारणा बढ्दो छ। यही अविश्वास लोकतन्त्रका लागि खतरा हो। लोकतन्त्र चुनावले मात्र टिक्दैन, विश्वासले टिक्छ। तर यो तुलना केवल आलोचनाका लागि मात्र होइन। डाइओजिनिसबाट नेपालका राजनीतिज्ञहरूले सिक्न सक्ने धेरै कुरा छन्। पहिलो, सत्य बोल्ने साहस। जनतालाई मनपर्ने कुरा मात्र होइन, यथार्थ कुरा भन्न सक्ने नेतृत्व चाहिन्छ। दोस्रो, सरलता। पदमा पुगेपछि जनताबाट टाढा नभई झन् नजिक हुने संस्कृति आवश्यक छ। तेस्रो, आत्मनिर्भरता। हरेक समस्यामा दोष अरूलाई दिएर होइन, समाधान आफैंबाट सुरु गर्ने सोच चाहिन्छ। चौथो, नैतिकता। कानुनी रूपमा मात्र होइन, नैतिक रूपमा पनि उत्तरदायी राजनीति समयको माग हो।
नेपालका नागरिक पनि यस बहसका महत्त्वपूर्ण पक्ष हुन्। डाइओजिनिसले समाजलाई प्रश्न गर्न सिकाएका थिए। जनता मौन हुँदा गलत नेतृत्व बलियो हुन्छ। सचेत नागरिकता नै लोकतन्त्रको प्राण हो। चुनावमा जात, क्षेत्र, नाता, क्षणिक लाभ वा भावनामा होइन, नीति, क्षमता, चरित्र र कार्यसम्पादनका आधारमा निर्णय गर्ने संस्कार विकास हुनुपर्छ। जनताले प्रश्न गर्न छोडे भने नेता जवाफदेही हुँदैनन्।
युवा पुस्ताको भूमिका झन् महत्त्वपूर्ण छ। आज धेरै युवाहरू विदेशिएका छन्, धेरै निराश छन्, धेरै राजनीतिप्रति उदासीन छन्। तर परिवर्तनको शक्ति युवामै हुन्छ। डाइओजिनिसले प्रचलित गलत संरचनालाई चुनौती दिएका थिए। आजका युवाले पनि सभ्य, तर्कपूर्ण र रचनात्मक रूपमा राजनीतिक संस्कृतिलाई बदल्न दबाब दिन सक्छन्। सामाजिक सञ्जालमा रिस पोखेर मात्र होइन, नीति बहस, स्थानीय सहभागिता, स्वच्छ उम्मेदवारको समर्थन र जनचासोका मुद्दामा संगठित आवाज उठाउन आवश्यक छ।
नेपालको राजनीतिमा सबै नेता नकारात्मक छन् भन्ने निष्कर्ष गलत हुन्छ। धेरै इमानदार, मेहनती र जनमुखी व्यक्तिहरू पनि छन्। तर प्रणालीमा हावी भएका नकारात्मक प्रवृत्तिले राम्रा प्रयासहरू ओझेलमा परेका छन्। त्यसैले अब व्यक्तिको मात्र होइन, संस्कृतिको सुधार आवश्यक छ। राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण, पारदर्शी आर्थिक प्रणाली, योग्यता आधारित जिम्मेवारी र सार्वजनिक मूल्यांकनको अभ्यास बढ्नुपर्छ।
अन्ततः, २३२५ वर्षअघिका Diogenes ले उठाएका प्रश्नहरू आज पनि जीवित छन्।सत्य कहाँ छ? इमानदारी कहाँ छ? सत्ता किन? सेवा कि स्वार्थ? नेपालका वर्तमान राजनीतिक घटनाक्रमलाई हेर्दा यी प्रश्नहरू अझै सान्दर्भिक छन्। इतिहास बदलिएको छ, भूगोल फरक छ, व्यवस्था फरक छ, तर मानव स्वभावका केही कमजोरी उस्तै छन्। त्यसैले डाइओजिनिसलाई सम्झनु केवल पुरानो दर्शन सम्झनु होइन, आजको राजनीति ऐनामा हेर्नु हो।
नेपाललाई आज भाषणभन्दा व्यवहार, नाराभन्दा नतिजा, सत्ताभन्दा सेवा र चातुर्यभन्दा चरित्र चाहिएको छ। यदि नेतृत्वले यो कुरा बुझ्यो भने राजनीति जनविश्वासको माध्यम बन्न सक्छ। नबुझ्यो भने जनता फेरि पनि बत्ती बालेर इमानदार नेतृत्व खोज्न बाध्य हुनेछन्।
-अरुण राज सुमार्गी
(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)
#arunrajsumargi