काठमाडौं । गरिमा विकास बैंक ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभावशाली वित्तीय प्रदर्शन गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हासिल गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष ३५ करोड ४ लाख रुपैयाँ रहेको यस्तो मुनाफा चालु आवमा बढेर ६२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी चार दशमलव ८७ प्रतिशतले बढेर दुई अर्ब ७९ करोड ९८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष दुई अर्ब ६६ करोड ९७ लाख रुपैयाँ थियो । साथै, इम्पेयरमेन्ट चार्ज ७१ करोड ५९ लाख रुपैयाँबाट घटेर ३९ करोड ४ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा थप सहयोग पु¥याएको देखिन्छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी आठ दशमलव ३९ प्रतिशतले बढेर तीन अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा अझ उल्लेख्य रूपमा बढ्दै ४४ प्रतिशतको वृद्धि सहित एक अर्ब ५१ करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष एक अर्ब चार करोड ९१ लाख रुपैयाँ थियो ।
चुक्ता पुँजी छ अर्ब दुई करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ४४ करोड रुपैयाँ सञ्चिति रहेको छ । बैंकले चैत मसान्तसम्म ७६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै ९४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कुल सम्पत्ति एक खर्ब आठ करोड रुपैयाँ नाघेको छ । यस अवधिमा बैंकमा निष्क्रिय कर्जा अनुपात चार दशमलव ७८ प्रतिशतबाट घटेर चार दशमलव ७७ प्रतिशतमा सीमित भएको छ ।