काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।
बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई आमन्त्रण गरिएको नेताहरूले बताएका छन् ।
बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने तय गरिएको छ ।
यसअघि गत ६ वैशाखमा सोही स्थानमा बोलाइएको भेलाले तत्काल कुनै कठोर निर्णय नगरी ‘पर्ख र हेर’ को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो ।
विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन् । उनले विशेष महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिक मान्यता दिएको थियो ।
त्यसपछि पनि खड्काले आफ्ना समूहका नेताहरूसँग बैठक र छलफललाई निरन्तरता दिँदै आएका छन् ।
उनको गतिविधिलाई संस्थापन पक्षले पार्टी अनुशासनविपरीत भन्दै स्पष्टीकरणसमेत सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका छैनन् ।
यता सभापति गगन थापाले गत ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटवार्ता गरेका थिए । दुई नेताबीच भएको छलफलबारे भने हालसम्म सार्वजनिक रूपमा कुनै विवरण खुलाइएको छैन ।