बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौँका विभिन्न क्षेत्रमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न उक्त समूहलाई प्रयोग भएका सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिकाका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उक्त समूहले गत चैत १२ गते, चैत १९ गते र वैशाख ६ गते काठमाडौँका विभिन्न क्षेत्रमा सिक्री तथा सुनजन्य सामग्री लुटपाट गरेको अनुसन्धानबाट खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूबाट १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल फोन एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको जनाएको छ।

तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त थानकोटमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।