बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेसमा संसदीय दलको नेता चयन र अनुशासनसम्बन्धी निर्णयका लागि आज बैठक

सोमबार, बैशाख १४ २०८३

काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनसम्बन्धी विषयलाई लिएर आज सोमबार दिनभरि नै महत्वपूर्ण बैठकहरूको चटारो हुने भएको छ। दलको नेता चयनमा देखिएको प्रतिस्पर्धा र अनुशासन उल्लङ्घनका उजुरीमाथिको कारबाही प्रक्रियाबारे निर्णय लिन पार्टीले तीनवटा छुट्टाछुट्टै बैठक बोलाएको हो।

संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बनेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ। उक्त बैठकमा सभापति गगन थापाले दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र त्यहीँबाट नाम टुंगो लगाउने तयारी गरिएको छ।

कार्यसम्पादन समितिको बैठकपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार उक्त बैठकले दलको नेता चयन प्रक्रियालाई अन्तिम रूप दिई औपचारिक अनुमोदन गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका तथा उनीहरूका समर्थक र प्रस्तावकमाथि परेका उजुरीमाथि छलफल हुनेछ।

त्यसैगरी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणबारे पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ।