काठमाडौँ । नियमित गस्तीमा खटिएको नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ४१ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट र नगद ६८ हजार २०० रुपैयाँसहित एक जना किशोर पक्राउ परेका छन्।
यस्तै कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई तथा दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरू शनिबार नियन्त्रणमा लिइएका हुन्। उनीहरूबाट नगद रकम तथा लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ।
यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक जना तथा बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ गरिएको छ।
अन्य स्थानमा इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई तथा सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एक जना पक्राउ परेका छन्।
त्यसैगरी विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका–५ शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही स्थानबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ट्याब्लेटसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।