काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुर बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो।
त्यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको छ भने कैलालीको गोदावरी नगरपालिका–४ स्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई जना तथा टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित नियन्त्रणमा लिइएको हो।
यस्तै उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।