बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महेश बस्नेतको दाबी : यो सरकार चाँडै जनताको मनबाट मात्र होइन, सत्ताबाट पनि विदा हुन्छ

बिहिबार, बैशाख १० २०८३

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुने दाबी गरेका छन्। अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने निर्णयलाई लिएर उनले सरकारलाई “जनविरोधी र गरिबमारा शासन” को संज्ञा दिएका हुन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर “शनिबार वा आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न” निर्देशन दिएको दाबी गरेका छन्। उक्त निर्णयले सरकारको वास्तविक चरित्र उजागर भएको उनको आरोप छ।

उनले केही समयअघि सुकुम्बासी बस्तीमा डोजर चलाइए छाती थाप्ने बताएका रास्वपा सभापति रवि लामिछानेको पुरानो अभिव्यक्ति पनि स्मरण गराएका छन्। “आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषणमा मात्रै सीमित हो त ?” भन्दै उनले प्रश्न उठाएका छन्।

बस्नेतले सुकुम्बासीलाई लखेट्ने कि व्यवस्थित गर्ने, गरिबी हटाउने कि गरिब नै समाप्त पार्ने भन्ने प्रश्न गर्दै सरकारको नीतिप्रति असन्तोष व्यक्त गरेका छन्। उनका अनुसार सडक चौडा गर्ने नाममा साना व्यवसायी र स्थानीयमाथि डोजर चलाउने तथा भन्सार नीतिबाट गरिब वर्ग प्रभावित हुने काम भइरहेको छ।

उनले विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले सरकार लोकतान्त्रिक संस्कारबाट टाढिँदै अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाए।

“यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्,” बस्नेतले भनेका छन्, “जनताको धैर्यको सीमा हुन्छ। यस्तै अवस्था रहिरहे यो सरकार चाँडै जनताको मनबाट मात्र होइन, सत्ताबाट पनि विदा हुनेछ।”