बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विदेश पठाउने भन्दै ४८ लाखभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ

बिहिबार, बैशाख १० २०८३

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन्।

प्रहरीका अनुसार शक्ति लामाले अजरबैजान र फिजी पठाइदिने भन्दै २६ लाख ६३ हजार ७१० रुपैयाँ, विष्णु बुढाथोकीले ब्रुनाई पठाइदिने भन्दै ४ लाख ५० हजार रुपैयाँ तथा सुस्मिता महर्जनले अस्ट्रिया पठाइदिने भन्दै १७ लाख रुपैयाँ उठाएर विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीपछि उनीहरू पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा पक्राउ परेका शक्ति लामाविरुद्ध इलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङमा ५ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दा पनि रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।