राजीनामापछि सुधन गुरुङको प्रतिक्रिया : ‘मैले नैतिक जिम्मेवारी निर्वाह गरेँ’
गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको बताएका छन्। सार्वजनिक जीवनमा स्वच्छता, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबैले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै गुरुङले लेखेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वेट सेयर छ, विस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”
उनले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो विषय भएको उल्लेख गरेका छन्। जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको भनाइ छ।
गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको बताएका छन्। “सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले लेखेका छन्।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र अनुसन्धानमा कुनै असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले स्पष्ट पारेका छन्।
उनले भनेका छन्, “मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ—प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।”