काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने कार्यक्रम रहेको बताइएको छ ।
आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने र कार्यक्रममा पार्टी सभापति सहभागी हुने पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिनुभएको छ ।
पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहने बताइएको छ ।
कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको जनाएको छ ।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा गरेको बताइएको छ । साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने जनाइएको छ ।
कांग्रेसको कोशी प्रदेश नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले बताउनुभएको छ । पार्टीले प्रदेशस्तरका समीक्षा कार्यक्रमलाई केवल चुनावी हार–जितको विश्लेषणमा सीमित नराखी संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाएको जनाएको छ । विराटनगरको कार्यक्रमलाई कोशी प्रदेश कांग्रेसको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।