शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयविरुद्ध नेता खड्काको आपत्ति

बुधबार, बैशाख ९ २०८३

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्

आज विज्ञप्ति जारी गर्दै उहाँले उक्त निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा अधिनायकवादी सोचको संकेत भएको बताउनुभयो।

खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीहरूको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे। उनका अनुसार निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध लाग्दा विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाउने काम गरेका थिए।

उनले विसं २०३६/३७ को विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताए ।

खड्काले लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गर्दै उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी सङ्गठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण भएको टिप्पणी गरे।

विद्यार्थी सङ्गठन केवल राजनीतिक आस्थासँग जोडिएका संस्था नभई शैक्षिक क्षेत्रका विकृति, विसङ्गति र अन्यायविरुद्ध आवाज उठाउने वैधानिक निकाय भएको उनको भनाइ छ।

नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन, विद्यार्थी सङ्गठनहरूको गरिमा कायम राख्न आग्रह गर्दै अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी दिए।