काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको भेटवार्ताले पार्टीभित्र तीन महिनादेखि जारी संवादहीनता तोडिएको छ। आइतबार साँझ सभापति थापा खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए।
दुवै नेताबीच करिब एक घण्टा पार्टी एकता, आन्तरिक विवाद समाधान र भावी रणनीतिबारे छलफल भएको बताइएको छ। भेटपछि सभापति थापाले पार्टीको बृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद सुरु गरेको बताए।
“पार्टीलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशनमा लैजानु मेरो प्रयास हो,” थापाले भने, “वरिष्ठ नेताहरूबाट त्यसमा सहयोग हुनेछ भन्ने विश्वास लिएको छु।”
माघ २ गते निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले शुक्रबार उक्त निर्णयलाई सदर गर्दै रिट खारेज गरेपछि थापाले संवादको पहल थालेका हुन्।
खड्कानिकट नेता रामहरि खतिवडाले थापा–खड्का भेटलाई ‘आइसब्रेक’ को रूपमा व्याख्या गर्दै अब कांग्रेस एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार नेतागत समूहभन्दा पार्टी एकता अहिलेको आवश्यकता भएकाले सोही विषयमा छलफल केन्द्रित भएको थियो।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा टुंगो लगाए पनि राजनीतिक रूपमा भने मतभेद कायम छन्। निवर्तमान संस्थापन पक्षको नेतृत्व हाल पूर्णबहादुर खड्काले सम्हालिरहेका छन्।
खड्का पक्षले पार्टीमा सम्मानजनक स्थान सुनिश्चित हुनुपर्ने माग गर्दै आएको छ। केही नेताहरूले छुट्टै पार्टी गठनको विषयमा अनौपचारिक छलफल गरे पनि अधिकांश नेता एकताकै पक्षमा देखिएका छन्।
आइतबार बसेको खड्का समूहको भेलाले पनि पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालेको छ। भेलामा सहभागी नेताहरूले सबै पक्षको आत्मबल बढ्ने वातावरण बनाउन तथा सानेपास्थित पार्टी कार्यालयबाट संवादको ढोका खुला गर्न नेतृत्वलाई आग्रह गरेका छन्।
नेता श्याम घिमिरेले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने जिम्मेवारी वर्तमान संस्थापन पक्षको रहेको बताएका छन्।
आइतबार खड्का समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलामा सहभागी हुँदै नेता घिमिरेले अदालतको विवाद टुंगिसकेको उल्लेख गर्दै अब पार्टीलाई राजनीतिक रूपमा एकताबद्ध बनाउने समय आएको बताए।
उनले सभापति गगन थापाले सबै पक्षलाई समेट्ने ढंगले अग्रसरता लिनुपर्ने धारणा राखे। “अब मुद्दा मामिलाको कुरा सकिएको छ। राजनीतिक रूपमा पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ,” उनले भने।
घिमिरेले वर्तमान नेतृत्वले जित–हारको मानसिकता त्यागेर सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने बताए। “संस्थापन पक्षले हामीले जित्यौँ, हामी भइसक्यौँ भन्ने सोच बिर्सेर पार्टीलाई एक बनाएर लैजानुपर्छ,” उनले भने।
उनले कांग्रेसको सुदृढ भविष्यका लागि सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको समेत जोड दिए।