बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र विकास बोर्डद्वारा नवनिर्वाचित चलचित्र पत्रकार संघ नेपालको कार्यसमितिलाई सम्मान

सोमबार, बैशाख ७ २०८३

काठमाडौँ । चलचित्र विकास बोर्डद्वारा नवनिर्वाचित चलचित्र पत्रकार संघ नेपालको कार्यसमितिलाई सम्मान गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपालको १० औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई, शुभकामना तथा सम्मान गरिएको हो ।

चाबहिलस्थित बोर्डमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सञ्चार क्षेत्रमा पत्रकारहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा पनि गरेका थिए ।

उनले नयाँ कार्यसमितिले अझ मर्यादित र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रको अनुगमन र मूल्यांकनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सम्मान ग्रहण गर्दै संघका अध्यक्षले पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई आत्मसात् गर्दै निष्पक्ष र स्वतन्त्र पत्रकारितामा प्रतिबद्ध रहने जनाए।

कार्यक्रममा अध्यक्ष डिसीले बोर्डले हालसम्म गरेका गतिविधि र उपलब्धिबारे छोटो प्रस्तुति समेत दिएका थिए।

समारोहमा बोर्ड सदस्यहरू सन्तोष बाबु लोहनी, बिरेन्द्र भट्ट, गणेश सुवेदी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, उडानका अध्यक्ष राजभाइ सुवाल, कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो।

यसैगरी कार्यक्रममा संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बिदुर गिरी, पूर्व उपाध्यक्ष लक्ष्मण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।